Searching...
Sunday, 24 August 2014

हरियो चप्पल - मनोबाद

अङ्ग्रेजीमा आत्मबललाई "self Esteem" भनिन्छ । जब एउटा मान्छे को आत्मबल गिर्छ त्यसलाई अङ्ग्रेजीमा भनिन्छ "Low Self Esteem" । आज म यसै गिरिएको आत्मबलको बारेमा केहि लेख्दै छु । मेरो बिचारमा यो एक रोग हो "मानसिक रोग" । यो रोगको मुख्य कारक तत्व भनेको "समाज" हो । म सन्सारमा चलिआएका ठुला ठुला ब्यक्तिको उदाहरण दिन चाहन्न । मलाई लाग्छ मेरै उदाहरण काफी छ कि यो समाज कति निच छ र कति गिरेको छ । आत्मबल कसरी गिर्छ र आत्मबल गिराउने तत्व के के हुन् त ???
१. खिसि ट्यूरी 

उमेर थियो त्यस्तै ७-८ बर्ष । मेरो बोली स्पस्ट थिएन । छिमेकको एउटा घरमा खेल्न पुगेको थिएँ, खोइ के प्रसङ्गमा हो "हरियो चप्पल" भन्नु पर्नेमा स्पस्ट बोली नभइदिनाले "हगियो चप्पल" भने । त्यो दिन देखि लगभग सबैले मलाई चप्पल हगिस भन्दै सोध्न थाले । खोइ जिस्काका हुन् कि के गरेका हुन् तर त्यो कुरा को यति चोट परेछ कि आज सम्म पनि "हरियो" भन्नु पर्दा "Green" शब्द प्रयोग गर्छु । बिस्तारै थाहा पाएँ मैले "र" शब्दको उच्चारण राम्रो सगँ गर्न नजान्ने रैछु, कसैले मलाई त्यो सुधार्न सल्लाह दिएन कसैले केहि भनेन । अहिले आएर थाहा पाएँ त्यहि बेला oral exrcise गरेको भए त्यो समस्या हल भइसक्ने रहेछ तर कसैले सकरात्मक हिसाबले मेरो समस्या हल गरिदिने अबसर नै दिएन । यसरी "र" , "ड" जस्ता २-४ वटा अरु अक्षरहरु बोल्नमा समस्या हुने रैछ भनेर बुझ्दै गए र आज सम्म पनि यहि समस्याका कारण धेरै चोटी हाँसो को पात्र बन्ने गरेको छु । मेरा लागि ३६ अक्षर युक्त वर्णमाला घटेर ३० अक्षरिय भइसके । यसरी कलिलै उमेरमा अस्पस्ट बोलीका कारण मेरो आत्मबल घट्न सुरु भयो । कक्षा ४ मा आइपुग्दा खासै नमौलाएको मेरो आत्मबल र आफ्नै बोली देखि तर्सिने मेरो बानीको बाबजुत पनि मैले ज्ञानकुन्ज स्कुलमा बतृक्त्वकला प्रतियोगीतामा दोस्रो स्थान हाँसिल गरें । २-३ बर्ष अगाडि "हरियो चप्पल"ले देखाएको त्रास अब कम हुन थाल्यो । म साथि भाइ सगँ घुलमिल हुन थाले । रमाउन थाले र कक्षा ४ सकियो । मलाई कक्षा "६"मा भर्ना गरियो, स्कुल परिवर्तन गरियो । नयाँ ठाउँ, नयाँ साथि भाइ सबै आफू भन्दा अग्ला अग्ला, डरले नै पनि मेरो बढेको आत्मबल गिर्यो, त्यसमाथि कक्षा ५ नपढि ६ पढ्ने भाको पढाइ पनि सकियो, वाक शक्ति पनि सकियो र म शिथिल हुँदै गएँ ।




२. इच्छा शक्तिको हत्या

नयाँ स्कुल "पिनाकल स्कलर्स एकेडमी, कलङ्की" मा सङ्गीत सिकाइने रहेछ । गितार बजाउन साह्रै रहर लाग्यो । म पनि सिक्छु भन्दै गितार कक्षा छिरे । तर गितार गुरुले ठाडै भनिदिए , " तेरो औलाँ सानो छ गितार बजाउन सक्दैनस् " यत्ति भनेर गितार गुरुले मलाई कक्षाबाट निष्काशन गरिदिए । रुन मन लाग्यो तर रोइन र त्यो घटनाको प्रभाव यस्तो बसेछ कि १० बर्ष सम्म पनि म त्यहि सोच्दै बसें, औला सानो हुने ले गितार बजाउन सक्दैनन्, तर सबै झुट्टा रहेछ नसकिने त केहि पनि रहेनछ ।  यसरी मेरो सङ्गीत सिक्ने चाहनाको चिरहरण भयो । मेरो आत्मबल फेरी नाङ्गीयो ।

सायद ५ कक्षा नपढेकाले होला मेरो पढाई धुजा धुजा भयो, कक्षा ७ सम्म आइपुग्दा हाम्रो स्कुलका प्रध्यानध्यापक ज्यूले कमजोर बिधार्थिहरुको छुट्टै समुह विभाजन गरिदिनु भयो । कक्षामा बस्दा पनि सगैं बस्नु पर्ने, पुस्तकालय जाँदा नि सगै जानु पर्ने, कमजोरको साथि कमजोर र जेहेन्दारको साथि जेहेन्दार नै गराउनु भयो । उहाँले यसो गर्दा अलि अलि बन्न लागेका साथिहरु नि छुटे, प्रिन्सिपलले गाली गर्छ भन्ने डरले उनिहरु पनि बोल्दैन थिए, म पनि सधै चुप । 

३. आरोप 

आमाले सानै देखी लेख्न प्रेरित गर्नु हुन्थ्यो, लेख्थे पनि । कक्षामा पढ्ने र नपढ्ने हरुको समुहमा विभाजन भए देखी मनोबल गिरेको थियो । त्यहि पनि त्यो स्कुलमा भानु जयन्तिका दिन कविता प्रतियोगिता हुने रहेछ । हामीलाई एक हप्ता अगाडि नै जानकारी गराइयो । साढे एक बर्ष अगाडि बतृक्त्वकलामा दोस्रो भए देखी मैले केहि पनि जितेको थिइन, कहाँबाट यस्तो इच्छा शक्ति मौलायो कि सोँचे यो कविता प्रतियोगिता मेरै हो । र हप्तै भरि तयारी गरें दत्त चित्त भएर कविता लेखे । मलाई याद छ अझै त्यो कविता ती हपुवाहरुको भन्दा उत्कृष्ट नै थियो । म कविता बाचन गर्न स्टेजमा गएँ, ४ हरफ बाचन गरिनसक्दै प्रिन्सिपल ज्यूले मलाई सुटुक्क बोलाउनु भयो र बाचन गर्न दिनु भएन, उहाँले भन्नु भयो त्यो कविता मैले कसैको सारेको हुँ, मैले त्यो कविता चोरी गरेको हुँ । यसरी आफ्नै कविता आफैले चोरेको भन्ने आरोप लाग्यो र म चोर कहलिएँ ।

४. मानसिक दवाव

सानैमा निमोनिया र कलङ्कीको धुवाँ धुलोको दुस्प्रभावले गर्दा "दम" भन्ने घातक रोग देखिइसकेको थियो । स्कुलमा पुस माघमा खेल कुद आयोजना हुन्थ्यो । साह्रै प्रिय लाग्ने खेल "क्रिकेट" खेल्ने इच्छा थियो तर मलाई दम छ भन्ने जानकार पाएका शिक्षकहरुले खेल्न दिएनन् । केहि नगरे पनि विकेट किपर बस्छु भन्दा पनि सुनेनन्, ७ बर्ष कै उमेर देखी रातो क्रिकेट बलको सिम पकड्न सिकेको मलाई क्रिकेट खेल्न कहिल्यै दिइएन, रोगको कारण देखाइ मेरो गिरेको आत्मबलको फाइदा लिनेहरु मेरै साथिहरु थिए । शिव खेराको किताब "You Can Win" मा उनले लेखेका छन् एउटा रोगिलाई जति रोगको बारेमा त्राश देखाइन्छ रोगले त्यत्तिनै चाँडै थला पार्छ तर यो कुरा कसैले बुझेनन् म खेल्ने कोशिस गर्छु भन्दा पनि निर्दयीहरुले कहिल्यै खेल्न दिएनन् । म राणाकालिन पिडित जनता मात्र बन्न सकें, क्रान्तिकारी गङ्गालाल कहिल्यै बन्न सकिन केवल मेरो गिरेको आत्मबलले गर्दा ।  

यसरी नै म मा विकसित हुन सक्ने बिभिन्न प्रतिभाहरु पतन हुँदै गयो, १२-१३ बर्षको उमेरमा नै उच्च रहनु पर्ने आत्मबल यत्ति नमज्जा सगँ गिर्यो कि के भन्नु ? अब कक्षा १० सम्ममा आइपुग्दा म न त कसैसगँ बोल्थे न त मलाई कुनै कुराको चाख थियो, ४ बर्षमा मेरो आत्मबलको जन्मन नपाउँदै हत्या गरिएको थियो, "भ्रुणहत्या" । हत्या गरेको थियो मेरा नव स्कुलका मित्र, निकृष्ट शिक्षक र समस्त स्कुल प्रशासनले ।

५. मित्रतामा फाटो

साथिको नाममा खास कोहि थिएनन्, पढाई त आलु थियो । कक्षामा प्राय प्रथम हुने साथिसगँ बस्थे । निकै नै तेज उनिसगँ धेरै कुरा सिक्न पाउँथे । उ सगँ त्यस्तो हेपाहा प्रबृति त थिएन तर जब आफू कमजोर भइँदो रहेछ तब आफ्नै गल्लिको कुकुरले नि भुक्ने रहेछ । एकदिन यस्तो घटना घट्यो जुन मैले केवल फिलिमहरुमा मात्र देख्ने गरेको छु । एकदिन ती तेज साथिको बुबा स्कुल आउनु भयो, आफ्नो छोरोलाई हेर्नु भयो र सायद प्रिन्सिपललाई गएर सोध्नु भयो, "त्यो मेरो छोराको छेउमा बस्ने को हो?" उसको छेउमा बस्ने म थिएँ। प्रिन्सिपल र साथिको बुबा बिच केहि वार्तालाप चल्यो, एकैछिनमा प्रिन्सिपल कक्षा कोठामा आए र मलाई प्रथम हुने देवकोटा जी सगैँ नबस्न भने र मेरो झोला लगेर अन्तै राखिदिए ।त्यसबखत त मैले कुरा बुझिन, भोली पल्ट त्यहि साथिसगँ बसौला र केहि ज्ञान गुणका कुरा सिकौला भन्ने आशयले सगै बसें तर देवकोटा जीले यस्तो जवाफ दिए "सौगात तिमी पढाई मा कमजोर छौ, मलाई मेरो बुवाले तिमीसगँ नबस्न भन्नु भाको छ, म आज देखी तिमीसगँ बस्दिन र तिमी मेरो घरमा फोन पनि नगर्नु" । जिन्दगिमा त्यो बेला जस्तो गहिरो चोट कहिल्यै पनि परेको छैन, घुटुक्क थुक निले र भने जस्तै गरें । आत्मबल पछि को भ्रुण हत्या पछि पनि त्यहि लासलाई पनि बलात्कार गरे जस्तो लाग्यो । म सायदै जिन्दगि मा त्यति धेरै दुखी भएको छु । एक दिन ती मित्र घुम्दै घर आइपुगेका थिए, भित्र सम्म बोलाउने जाँगर पनि चलेन । ती मित्रका बाउ गोरखाका देवकोटा हुन् धेरै पढेका धेरै ज्ञानी गुणी, सायदै गोर्खे पानी नै राम्रो होला । त्यहि साथिको बाउले पढेको बिषय पढेर म पनि केहि गरम्ला झै लाग्थ्यो र गरे पनि  म पनि आज एउटा इन्जिनियर भएँ, ती जस्तै सिभिल इन्जिनियर । साथ साथै सामाजिक कार्यकर्ता भएँ, समाजको लागि गरेको छु भनेर शिर ठाडो बनाउन सक्ने भएँ । स्कुले जिन्दगिले धेरैलाई सुनौला पल दिन्छ तर मलाई केवल आँशु दियो । यो समाजले मलाई कहिल्यै प्रोत्साहन गरेन, सधै मेरो कमजोरीलाई eyeglass लगाएर देखाइदियो कहिले मलमपट्टी गरेन ।   


अन्ततः 

मैले जस्तो समस्या अरुले भोग्न नपरोस्, ती खिसि ट्यूरी गर्ने गर्नु भाको छ भने सोच्नु होला, एक अबोध बालकको कमजोरी औलाइदिनु भन्दा पनि कमजोरी को निकाश दिनु ठुलो कुरा हो । बालापनमा धेरै सकरात्मक इच्छा हरु जाग्न सक्छन् तर असहयोगी परिवार र मैले भोगे जस्तै असहयोगी स्कुल प्रशासन कसैले भोग्न नपरोस् । त्यो कलिलो उमेरमा जे एउटा बालकले सुन्छ त्यहि सिक्दै जान्छ, उसको सिक्ने चाहनालाई लाठि चार्ज गर्नु भन्दा उसको मनोभावना बुझ्नु जरुरी हुन्छ । यसरी नै यदि तपाईहरुले पनि मेरा पिडकहरुले झै कसैलाई ब्यबहार गर्नु भएको छ भने आजै बाट बन्द गरिदिनु । गिरेको आत्मबललाई फेरी उकास्न निकै नै गाह्रो पर्ने रहेछ ।आज जब म आफ्नो अतित सम्झन्छु, म खुसि हुन्छु । आत्मबल बटुलेर फेरी ब्यूतिएको छु । त्यो चार कक्षे बतृव्तकलाको प्रतियोगि भएर ब्यूतिएको छू, आवाज स्पस्ट नहोला, फेरी "हरियो चप्पल"लाई "हगियो चप्पल" नै भनिएला तर म आज खुसि छु । यत्तिका बर्ष सम्म अपहरित मेरो आत्मबल आज म सगै छ ।आजकल त धेरैले मलाई भन्छन्, मैले मेरो बोली पनि चुइगम तन्काको झै तन्काउछु रे तर हरेक शब्द शब्द मा म मेरो अतित सम्झदै बोल्दै हुन्छु, म यत्तिका बर्ष सम्म टालिएका ओंठ र काटिएका जिब्रो पुनः आफ्नो स्वरुपमा आउँदा खुसी छु । मेरो आत्मसम्मान फर्कि आएकोमा खुसी छु । म चिच्याइ चिच्याइ बोल्न चाहन्छु, म त्यहि माइक समाउने चार कक्षे बालक बन्न चाहन्छु । 

1 comments:

  1. Great expression my Fren,would like to read another edition as well of "Hariyo Chappal" where we can view some positive experiences as well that help us cope with these challanges..... great work my Fren :) :) :)

    ReplyDelete

 
Back to top!