Searching...
Tuesday, 29 April 2014

प्रोजेक्ट कपुरी क ; इट्टा भट्टामा शिक्षा

यो समाज, म एक सामाजिक प्राणी । हुन त हामी सबैलाई कक्षा एक देखि नै "सामाजिक शिक्षा" भन्ने बिषयको रटान लगाइन्छ तर निकै कम मात्र सच्चा सामाजिक प्राणीको रुपमा रुपमा रुपान्त्रण भए । "I am a social Drinker" को फेटा बाँधेर आफूलाई सामाजिक जड्याहाको रुपमा बिकसित गर्ने र शिर उँचो बनाउने धेरै नै छन् तर साच्चै समाजको लागि केहि गरौ भन्ने निक्कै नै कम छन् । सात सय श्लोकको चन्डि पाठ गर्ने तर भित्र गुदि खोक्रो राख्न रुचाउने हामी नेपालीलाई दशौं बर्ष "सामाजिक शिक्षा" नामक भ्रामक बिषय पढाउनु कुरो उस्तै हो । इच्छा हुँदा हुँदै पनि निकै ढिलो  सुरु भयो मेरो सामाजिक यात्रा । झललल घाम लागे पनि कालकोठरी झै लाग्ने यो समाज ढिलै भए पनि मेरा लागि केहि उत्साह थपेर आयो । भित्र अन्तरमनमा कता लुकेको त्यो सच्चा सामाजिक प्राणी बन्ने चाहना खोइ कताबाट मौलाएर आयो । २३ बसन्त पार गरेपछि मात्र अनुभुति भयो केहि त गर्नै पर्छ । म जस्ता केहि युवा हरु यहि फेसबुके दुँनियामा भेटिए, सबै केहि गर्ने सोचमा रहेछन्, समाजमा केहि त गर्नै पर्छ, सानै काम गरेर मात्र नि ठुलो परिवर्तन आउन सक्छ भन्ने सबैको मनस्थिति थियो । र हामी जुट्यौ र यसरी प्रारम्भ भयो "गोठालो नेपाल" । 

बैसाख २०७० मा गठन भएको "गोठालो नेपाल"ले बिभिन्न सामाजिक काम गर्दै अगाडि बढ्यो । जो कसैले पनि सकरात्मक काम गरेको देख्ने बितिकै साथ दिन हात अगाडि बढायो । यसैबिच मङ्गसिर महिना सम्म आइपुग्दा धेरै काम भए, कुनै काम परिवर्तनको सारथि बन्न सक्यो त कुनै अन्योलग्रस्त नै मात्र भयो । सन्छेपमा भन्दा "गोठालो नेपाल"को सामाजिक यात्रा सकरातमक रुपले अगाडि बढ्यो । यसैबिच गोठालो नेपालका एक तेजिला भाइले कुरा निकाले, "केहि काम गरौ र लामो समयसम्म निरन्तरता दिउँ, जस्तै इट्टा भट्टाका बालमजदुरलाई शिक्षा" । यसरी कुरै कुरामा हामीले निर्णय गर्यौ, अबको केहि महिना हामी "गोठालो नेपाल"का गोठालाहरु मिलेर इट्टा भट्टामा कम्तिमा हप्ताको एकदिन साधारण शिक्षा दिउँ । सबैको सहमतिमा सुरु भयो इट्टा भट्टामा शिक्षा र कामको नामाकरण पनि भयो "प्रोजेक्ट कपुरी क" ।









 

दैनिक रु १ सङ्कलन गर्ने हाम्रो समुहको नियम थियो, त्यसरी नै सङ्कलित पैसाबाट सानै भए पनि कोष निर्माण भएको थियो । त्यहि कोषमा भएको पैसाले कापी कलम र साधारण शैक्षिक सामाग्रि किनेर पढाउन थालनि गरियो । बालमजदुरलाई पढाउने कुरा सानो थिएन, सुन्दा सरल लागे पनि निकै कठिनाइका साथ काम अगाडि बढ्यो । दैनिक हजारवटा भन्दा धेरै इट्टा बनाउने बालमजदुरहरुले इट्टा बनाएर मात्रै पनि मनग्य आम्दानि गर्ने गर्थे तर पढ्नु पर्छ भन्ने सद्बुद्धी भने पलाएको थिएन । बालमजदुरका बा-आमाहरु पनि पढाउने कुरा मा त्यत्ति खुसि थिएनन्, उनिहरु र हाम्रो समजदारी मा हप्ताको केवल एकदिन, शनिबार पढाउने निर्णय भयो । साधारण शिक्षा मात्र होइन, नैतिक शिक्षाको पनि कमि भएका बालमजदुरहरुलाई एकठ्ठा गराएर शिक्षा दिनु हाम्रो लागि एउटा परिक्षा नै थियो । एउटा तालिका बन्यो, शनिबार दिउसो १ बजे कलङ्कीको पि पी बुक्स स्टोरमा भेट । सुरु देखि अन्त्य सम्म यहि तालिकाको अनुशरण भयो ।

"प्रोजेक्ट कपुरी क" को केहि हप्तामै एउटा बिदेशी समाचार एजेन्सि "REUTERS" ले हाम्रो कामको बारेमा पत्तो पाएर समाचार नै बनायो । त्यसपछि सुरु भयो सहयोगको श्रृङ्खला, दुबइस्थित साथि अनुरागजीले शैक्षिक सामाग्रि किन्न भनेर आर्थिक सहयोग गरेर हौसला दिनु भयो, उहाँको सहयोगले हामीले बालबच्चालाई पढाउन एउटा "White Board" किन्न सक्यौ । लगत्तै UKमा रहनु भएको साथि विण्णु पोखरेल र उहाँका साथिहरु मिलेर हामीलाई अझै आर्थिकरुपले सबल बनाइदिनु भयो । यसैबिच हामीले सरस्वति पुजाको दिन इट्टा भट्टामा शिक्षाको निमित्त शैक्षिक सामाग्रि सङ्कलन को कार्यक्रम आयोजना गर्यौ, धेरै साथिहरुले हामीलाई अपेक्षा गरे भन्दा बढि सहयोग गर्नु भयो । समुह भित्रबाट नै धेरै साथिहरुले शैक्षिक सामाग्रिहरु दिएर हाम्रो कामलाई निरन्तररुपमा हौसला थपिरहनु भयो ।







भनिन्छ काम गरे पछि फलको आशा नगर्नु, तर यो कुरा केवल एउटा वाक्यांश मात्र हो जस्तो लाग्छ, हामीले बालमजदुरहरुलाई शिक्षा दिइसकेपछि पक्कै पनि उनिहरुमा केहि परिवर्तनको आशा हामीले गरेका थियौं । नभन्दै केहि बिधार्थी धेरै नै तेजिला भएर प्रकट भए। बाल बालिकामा मात्र नभएर उनिहरुका आमा-बालाई पनि शिक्षाको महत्व महसुस भएछ, अब उनिहरु आफ्ना बालबालिकालाई बिधालय पठाउँछौ भन्दै बाचा गर्दै छन्, बिधार्थिहरुमा पनि जोश र जाँगर जागेको छ, पढ्नु पर्छ भन्ने भावन जागृत भएको छ र उनिहरुको जीवनमा नयाँ उत्साह थपिएको छ । बालमजदुरहरुको पढाइमा त सकरात्मक परिवर्तन आयो र सगंसगैँ उनिहरुको पढाइप्रतिको रुचि नै हाम्रो सफलता भयो , र यो पाँच महिने कार्यक्रम परिवर्तको पालुवा बनेर निस्कियो । 













3 comments:

 
Back to top!