Searching...
Friday, 27 January 2017

गोरो छालाले लेखेको कालो यथार्थ


धेरै समय देखी दिमागमा धक्का प्राय लाग्ने गरेको थियो । कालो, गोरो, गहुँ गोरो, हाँडी , ध्वाँसे, उज्यालो, रातो पिरो, आदि इत्यादी शब्दहरुले सानै तिनै भए पनि केहि रिक्टरको धक्का भने दिइनै रहन्थ्यो मेरो मनमा । परार सालको महाभुकम्प जानु अघि देखी को धक्का हो जसले मलाई झक्झकाइरहन्थ्यो । साधारण भाषामा भन्दा दुइ रङ्ग कालो र सेतो र यसले ल्याउने बिभाजनले मलाई भने पटक्कै चित्त बुझ्ने गरेको थिएन, ब्लग नलेखे पनि दिमागमा कैयौ चोटी वार्तालाप हुन्थ्यो, कैयौ कुरा निस्कन्थे अनि सेलाउँथे । त्यहि दिमागी गनथनलाई आज केहि शाब्दिक रुपान्तरण गर्दैछु, अढाई बर्ष पछि फेरी ब्लग लेख्दै छु र बिरोध गर्दै छु त्यो सामाजिक मान्यतालाई जहाँ छाला र छालाको रङ्गलाई अत्ति नै उँचो दर्जा दिइएको छ ।

कुरो केहि बर्ष अगाडीको हो, मेरा एक मित्रको बिबाह हुँदै थियो, बढो कौतुहलताको साथ मैले मित्रलाई आफ्नो हुने वाला भाउज्यूको बारेमा सोधे । मृदुभाषी मित्रले बढो सरलताका साथ भने, केटी राम्री छ, तर काली छ यार । कुरो सहज छ, जति भुमध्य रेखा नजिकिन्छ, छालाले अनुकुलता खोज्दै मेलानिन भन्ने तत्वको बिकास गर्दै लग्छ , र मानिस कालो देखिदै जान्छ र वंशाणुगत गुण नै बनेर कालो देखिन पुग्छ मानिस । मेरो साथिको त्यो हरफ "तर काली छ यार" लाई सहजताका साथ स्विकारें, मेरा मित्र पनि त्यहि तराइकै बासिन्दा थिए, जहाँको बसाइले प्राय मानिसलाई कालो नै बनाउँछ, तर त्यहि ठाउँको मानिसले रङ्ग प्रति सानै भए पनि प्रश्न उठाएकाले सोच मग्न बनायो । तर सायद उनको उदारता नै होला उनले तिनै काली केटीलाई श्रीमति बनाए, र मैले बुझे त्यो कालो रङ्ग प्रतिको प्रश्न उनको प्रश्न थिएन, हाम्रो समाजको यथार्थ चित्रण थियो ।


स्मार्टफोन सगं संगै, रेट्रिका (Retrica) जस्तै कैयौ app हरु आए । सुन्नमा आयो, Retrica को उपभोग गर्न पाएका कतिले त fair and lovely र fair and handsome को प्रयोग नै बन्द गरिदिए अरे । बर्षौ देखी बिज्ञापनमा छाएको Fair and lovely ब्रान्डले हाम्रो समाजलाई यस्तो बनाइदिएको थियो कि सबै जना गोरो हुने र गोरो भएमा राम्रो देखिने कल्पना मात्र गर्न थाले । तर मैले ६ हप्तामा गोरो भएको कोहि पनि देखिन, केवल बिज्ञापन कि युवती मात्र देखे । पछि यहि कुकर्म Retrica जस्ता एप्सहरुले मिथ्यामा गोरो बनाइदिने काम थालनी गर्यो, मैले पनि यि एप्स चलाउने कोशिस गरें, र केहि दिन एेनामा हेर्दा काले नै भए पनि फुटा हेरेर गोरो आफू देखेर चित्त बुझाउने भएँ ।



बिस्तारै सुरु भयो नेपाली बकम्फुसे ट्रोल पेजहरुमा र नाम चलेका ग्रुपहरुमा, कालो केटा र गोरी केटीको बिच भएका बिबाह र मिलनलाई ट्रोल बनाउने र सो तस्बिरको मजाक उडाउने परम्परा, सायद आजकै दिन सम्म पनि कतिले ती तस्बिरहरुलाई बिभिन्न ट्रोल बनाएर लाइक्स कमाउँदै होलान । नेपालीहरुले साच्चै आफूलाई के ठानेका हुन त्यो मैले बुझिन तर जब रङ्गले मानिसलाई हाँसोको पात्र बनाउँछ र हामी त्यसमा हास्छौ भने साच्चै केहि न केहि त गडबढ छ हाम्रो समाजमा । माथिको तस्बिरलाई खुब प्रचार गरियो, हाँसो गरियो, जिस्काइयो, कारण थियो कालो केटा र गोरी केटी । यस्तो तस्बिर त कति छन् कति, दैनिक भाइरल बन्छन् यस्ता जोडिहरु जब उनिहरुको रङ्गलाई मात्र नियाल्छ र हास्छ हाम्रो समाज ।

माथि उल्लेख गरिएको सोहि मित्रको घरमा एक दिन म पाहुना भएर पुगें । तीनै भाउजु जो कालो वर्णकि थिइन र मेरा मित्रले मेरो राम्रो सत्कार गरेर स्वागत गरें । खाना खाएर गफ गरेर बस्दै थियौं । भाउजुले आफ्नो मोबाइलमा समस्या आएकाले मलाई बनाइदिने आग्रह गरिन, मैले हवस् भनेर मोबाइल हातमा लिएँ, सायद केहि shortcut button थिचियो कि, google search खुल्यो र भाउजुले गरेका गुगल सर्चले म स्तब्ध भए । भाउजु को सर्च मा केवल खोजिएको थियो त गोरी हुने तरिका । जस्तै "how to be fair", "how to look white", "how to make skin white", आदि इत्यादी, मैले झट्ट बन्द गरे । मोबाइलमा अन्य कुरा चलाउन खोजेको त केवल देखे गोरो बनाउने क्यामरा एप्सहरु, रेट्रिका लगायतका गोरो बनाउन तल्लिन एप्सहरु देख्दा नमज्जा लाग्यो, भाउजु खास निक्कै नै राम्री थिइन, उनि काली मै राम्री देखिन्थिन तर उनी गोरी हुन खोजेको बुझ्न मलाई समय लागेन, यो उनको आफ्नो चाहना भन्दा पनि समाज र यो सारा सन्सारले थुपारिदिएको बोझ र जिम्मेबारी थियो, गोरो भए राम्रो भइन्छ भन्ने बोझ । तर भाउजु यदि तपाई यो पढ्दै हुनुहुन्छ भने, गोरो बन्न तर्फ तल्लिन हुन छोडिदिनुस्, तपाईलाई गोरो भन्दा काली नै देखिदा राम्री देखिएको छ । 



हुन त आफ्नो शरिर आफ्नो मर्जि, आफ्नो मोबाइल, आफ्नो एप्स रेट्रिका, भन्नेहरु होलान, तर कुरा सुन्दा साधारण भए पनि गहन छ । यहि कालो र गोरो कै कुराले गर्दा सन्सारमा नरसंहार नभएका हैनन्, गोराहरुको अत्याचारबाट कालाहरुले मुक्ति पाएको पनि धेरै भएकै छैन र दैनिक जसो रङ्गभेदका घटना सुन्न पाइन्छ । म हरेक प्रकारका भेदहरुको बिरोध गर्न खोज्छु, कति त भेद हो भनेर नि बुझ्दिन होला तर रङ्गभेद मैले नेपालमा नचिताएको भेद हो । नेपालमा टुसो पनि नपलाएको रङ्गभेदले आजकल जरो गाडेको छ , अन्य भेद अझै कति छन् तर सिर्फ रङ्गभेदको मात्र कुरा गर्छु । रङ्गभेद भित्र जातिभेद लुक्छ । रङ्गभेद भित्र धर्म भेद हुन्छ । र अन्य धेरै भेद हुन्छ । र भेदले अन्तत: फुट ल्याउँछ ।



काला कृण्ण भगवानलाई मान्ने हाम्रो समाजले कालो बर्ण त्यति रुचाउँदैन । सौन्दर्यलाई रुप मा हेर्छ, अनि रङ्गमा हेर्छ, खै किन हो, कम्तिमा म बुझ्दिन । आजकल त अझै शारिरिक अशक्तता भएका मोटाहरुको तस्बिर प्रयोग गरेर ट्रोल बनाइन्छ, दिक्क लाग्छ त्यस्तो देख्दा । ती ट्रोलरहरु २१सौ शताब्दीका मानिस भनेर भनिरहँदा मलाई हाँसो लाग्छ, लाग्छ यिनिहरु १६ौ शताब्दीका साम्राज्यबादी हरु हुन् जो मानिसको आवरणमा सजिएका मात्र छन् भित्र राक्षस लुकाएका छन् । तपाई हामी जति यि गोरो बनाउने एप्स प्रयोग गर्दै छौ, हामी आफ्नो यथार्थबाट पर भाग्दै छौ, हामीले हाम्रो आफ्नो अस्तित्व नै स्विकार्न सकेका छैनौ भन्ने बुझिन्छ, हामी सायद अर्काका निम्ति आफू बाच्दै छौ र बिस्तारै बिस्तारै यहि स्वभावले हामी रङ्गभेदी बन्दै छौ, आफ्नै रङ्ग स्विकार्न गाह्रो हुने हामीलाई अर्काको रङ्ग त के सहन होला र कुन्नी ? साच्चै, हामीमा परिवर्तन खाँचो छ, हामीमा मानबता खाँचो छ, र खाँचो छ त केवल एउटा स्वच्छ मनको !!! फुलको आँखामा फुल नै सन्सार भनिएझै सन्सार नै राम्रो मात्र देख्ने हुन्छ हाम्रा आँखा एकदिन, त्यो राम्रो देख्नलाई retrica चाँहिदैन । सबैलाई समान दृष्टीले हेर्न सकिने शक्ति चाहिएको छ हामीलाई । खिसी ट्यूरीको परम्पराबाट माथि उठेर, कम्तिमा मानवलाई मानवकै दर्जामा राख्ने ब्यबहारको खाँचो छ सबैलाई । कुनै ग्लानी र हिनताबोध बिना बाच्न पाउने अधिकारको खाँचो छ सबैलाई, त्यसको लागि म , तपाई, हामी, सबै अलिक माथि उठेर आफ्नो सोचलाई अझै उठाएर साच्चै त्यो सभ्यताको शिखरमा पुग्न सक्थ्यौ कि ????

2 comments:

  1. Tuy chỉ mới xuất hiện ở thị trường Việt Nam trong vài năm trở lại đây, nhưng sản phẩm http://trinutgotchan.com/p/thuoc-fucoidan-co-may-loai-fucoidan-loai-nao-tot.html đã nhanh chóng được nhiều người biết tới bởi khả năng kỳ diệu giúp đẩy lùi ung thư hiệu quả. http://thuocmatngu.com/cong-dung-cua-thuoc-fucoidan-tri-ung-thu-cua-my.html đang dần khẳng định vị trí của mình trong y học với khả năng chữa trị ung thư rất hiệu quả. http://muahangamazon.net/vi-sao-thuoc-fucoidan-doctors-best-best-duoc-ua-chuong-hien-nay.html nhiều bệnh nhân ung thư thử dùng Fucoidan và đã tìm thấy hi vọng cho mình. Hiện tại các loại sản phẩm chứa hoạt chất Fucoidan có mặt ở thị trường Việt Nam rất đa dạng về chủng loại và giá cả, http://thuốctrịsẹo.com/thuoc-fucoidan-ho-tro-tri-ung-thu-co-tot-khong-mua-o-dau.html tìm một địa chỉ tin cậy để mua sản phẩm Fucoidan là điều quan trọng không kém. tuy nhiên, hiện nay lại chưa có một loại phương pháp nào có thể điều trị tận gốc căn bệnh này. Ngoài ra, http://muahangtrenebay.com/tac-dung-cua-thuoc-fucoidan-gia-thuoc-fucoidan-hien-nay.html khác những phương pháp như xạ trị, sử dụng thuốc Tây y ảnh hưởng rất nhiều đến bệnh nhân do có nguồn gốc hóa học.

    ReplyDelete

 
Back to top!