Searching...
Sunday, 16 February 2014

बिकृतिमा रमाएको संस्कृति





कुरो त कुरै हुने रहेछ, मेरो संस्कृति , मेरो रितिरिवाज, वाह वाह वाह । सब कुरा मै सिमित नाटक हरु हुन्, यि सहरिया भनौदाहरुलाई के को संस्कृति, के को रितिरिवाज? आज भ्यालेन्टाइन डे , फेब्रुअरी महिनाको १४ तारिख, सगँसगैँ आज स्वस्थानि बर्त कथाको साङ्गे गर्ने दिन पनि परेको रहेछ । म कुनै संस्कृतिलाई दोषारोपण गर्न चाहिरहेको छैन, दोष दिन चाहन्छु त यो जमातलाई जसले दिनानुदिन आफ्नो मौलिकतामा भटटट गोली हान्दै छ थाहा छैन गोली लाग्दै उसकै संस्कृति छिया छिया भएको तर हान्न भने रोक्दैन । म चिच्याइरहेको छैन कि भ्यालेन्टाइन्स नमनाउ तर आफ्नो मौलिकता भने नबिर्स भन्ने मेरो गुहार हो। कुनै जमाना कम्यूनिस्ट हुँ भन्दै टिका सम्म थापेनन कैयौ जमातले , कहिले म हिन्दु होइन भन्दै संस्कृति नकार्दै गए र स्वदेशमा बसेर बिदेशी ताल देखाए।

प्रसङ्ग यहि दोधारे दिनको भ्यालेन्टाइन्स डे र स्वस्थानि साङ्गे गर्ने दिनको । पुजा आजा सकेर सब परिवार सग सगै थियौ , पर कता हो कता एउटा आवाज घन्किन थाल्यो , हिन्दि अङ्ग्रेजी हुदै कोरियन गीत सम्म पनि घन्किन थाले, यसो छत तिर गएर हेरेको त कलङ्कीमा भब्य समारोह रहेछ । किर्तिपुरस्थित मेरा कान तेजिला भए कि त्यो कार्यक्रमको आवाज चर्को भयो त्यो त म भन्न सक्दिन तर म लगायत सबैलाई असह्य भइसकेको रहेछ। कुरो को चुरो सम्म पुग्दा त थाहा भयो त्यो भ्यालेन्टाइन्स डे को पार्टि रहेछ । प्रेमी जोडिहरुको लागि गरिएको बिसेष समारोह रहेछ, प्रेम गर्नु पाप त पक्कै होइन, त्यो नि मौलिक अधिकार हो तर प्रेम दिवस भनेर दिवस नामाकरण गरेर अनि अरुको मौलिक अधिकार हनन गर्नु कस्तो अधिकार रहेछ त्यो म बुझ्दिन । हामीले स्वस्थानी बर्त कथा पढ्दा पक्कै पनि कसैको अधिकार हनन हुने गरि बिदेशी संस्कृतिका गीत बजाएका छैनौ होला, पक्कै पनि कसैको निन्द्रा हरण गरेका छैनौ होला । पक्कै पनि १० कोश पर सुनिने गरेर चिच्याएका छैनौ होला। राति बाह्र बजे सम्म कसैको चैन हरण हुने गरि सताएका छैनौ होला। अचम्म छ पार्टिको नाम मा गरिने ती तुच्छ प्रकृतिका रमाइला प्रथमतः संस्कृति बिरोधी हुन् र अर्को समाजमा अराजकाता पैदा गर्ने राक्षसी गुण बोकेका कलङ्क हुन् ।

केहि सिप नलागेर मैले राती ८ बजे नेपाल प्रहरी नामक एउटा भ्रामक संस्थामा फोन लगाउन पुगेँ, परिक्षाको मुखमा थिए म, गर्न नि के सक्थे । पुलिस बन्धुले फोन उठाए र के के हो भन्न थाले, उनले भन्न रोके पछि मैले उनलाई सोधे, "दाजु राती राती यसरी गीत घन्काएर हल्ला गरेर र १० कोश सम्म आवाज पुग्ने गरि हल्ला गर्दैछन् , यसलाई कारबाहि गर्न मिल्छ कि मिल्दैन??" ती बन्धुले निर्धक्क भने कारबाहि हुन्छ नि, कहाँ हो स्थान तोकिदिनुहोस् हामी गएर शान्त गरिदिन्छौ भने, सबै थोक भने तर एक घन्टा सम्म नि उस्तै छ हल्ला ।पुलिस। ८ बजे उपाय नलागे पछि ११११ मा हेलो सरकार मा डायल गर्न बाध्य भए, नाम टिपाए, के के गर्नु पर्ने हो गरे, फोनलाई झ्यालतिर लगेर ल सुन्नुस त हल्ला भनेर नि सुनाइदिए, सुने होलान ती महोदयले तर छेउ टुप्पो लागेन।

राति बाह्र बजे सम्म कान मा कपास राखेर पढ्न बसियो, पछि सकिएछ कार्यक्रम । के यि नौटङ्की हाम्रो रितिरिवाज अन्तर्गत पर्छन्??? के यि फोकटिया परम्पराले हाम्रो लोप हुन लागेको संस्कृतिलाई जिबन्त राख्ला त??? के अबको युवा पिडिले पार्टिको रक्सिमा नै रमाउँछ त सधै??? के उनिहरुलाई सत्सङ्ग अनि भजन जस्तो आत्म शुद्दिको कुनै कुरा थाहा नहोला त??? प्रश्नहरु असिमित होलान् तर जुन किसिमले आजकलका युवा बिकृतिमा रमाउदै छन् र त्यसैलाई संस्कृति मान्दै छन् यसले पक्कै पनि गतिलो भबिष्य तर्फ लग्दैन ।




1 comments:

 
Back to top!